काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहमा अन्यत्रभन्दा राम्रो काम भएको दाबी गरेका छन् ।
माओवादी केन्द्र समाज कल्याण विभागले मंगलबार ललितपुरमा गरेको ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय तहका काममा पार्टीले कुनै हस्तक्षेप नगरेको जिकिर गरे ।
‘योजनाबद्ध रुपमा अघि बढ्न सके स्थानीय तहले अझै राम्रो गर्न सक्छन्,’ उनले भने, ‘अहिलेको अपारदर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको छ । त्यसमाथि चाहिँ हस्तक्षेप गरेर इमान्दारीका साथ संस्थाहरुलाई अघि बढाउनुपर्छ ।‘
देशको राजनीति र विभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको समेत प्रचण्डले बताए ।
प्रचण्डले सरकारमा हुँदा विभिन्न सामाजिक संघसंस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको पनि दाबी गरे ।














