काभ्रेपलाञ्चोक ।
सिन्धुलीको महादेव मन्दिर परिसरमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको हत्या भएको हो ।
सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको बताइएको छ ।
घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको ज्यान गएको छ ।
मृतकको पहिचान खुलेको छैन ।तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए ।
प्रहरीले हत्यामा संलग्नको खोजी थालेको बताएको छ।













