एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, के के छन् एजेण्डा ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख रोजेन्द्र गौतमका अनुसार बैठक विहन ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । बैठक भोलिसम्म चल्ने प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

पूर्व राष्ट्रपति एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणसंगै बसेको सचिवालय बैठक र पोलिट्ब्युरो बैठकमा केही नेताहरु अध्यक्ष केपी शर्मा ओलीसंग सवाल जवाफमै उत्रेका थिए । केन्द्रीय कमिटी बैठकमा समेत त्यसले निरन्तरता पाउने देखिएको छ ।

पूर्व राष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीको समेत केन्द्रीय कमिटीले टुंगो लगाउने बताइएकाले एमाले केन्द्रीय कमिटीको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

  • ५ श्रावण २०८२, सोमबार ०७:०४ प्रकाशित