पोखरा ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटान विरुद्ध ८ गोल गरेको छ । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो । नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एकरएक गोल गरे ।
पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो । प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन् । खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ । नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो ।
आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो । नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ । उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ ।
सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।















