पोखराको होटल ल्याण्डमार्कमा आगलागी, ३५ लाख बराबरको क्षति

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा आगलागी भएको छ । होटलको भान्सामा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

उक्त होटलको किचन कोठामा खाना पकाउने क्रममा शनिबार साँझ ५ बजेर ५ मिनेट जाँदा एक्कासी चिम्नीबाट आगो सल्किएको थियो । आगलागीबाट किचनमा रहेका चिम्नीका मोटरहरु लगायतका अन्य सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक लक्ष्मण रिजालको कमाण्डमा ६ जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा साँझ ५ बजेर २० मिनेट जाँदा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रणमा लिन सफल भएकाले थप क्षति हुन पाएन । आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ ।

  • १३ मंसिर २०८३, आईतवार ०८:३५ प्रकाशित