बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि ड्रोन प्रयोग

केन्द्रभाग मिडिया

गोरखा ।

रसुवा बाढीमा जस्तै बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा पनि राहत वितरणका लागि ड्रोन प्रयोग भएको छ । बाढीले सडक र पदमार्ग दुवै अवरुद्ध भएपछि ड्रोनको सहायता लिइएको हो ।

राहत वितरणमा कुल चार वटा ड्रोन प्रयोग भएको थियो । ड्रोन उडानका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट ११ जना प्राविधिक टोली खटिएका थिए ।खाद्यान्नसँगै टेन्ट, त्रिपाल, औषधी लगायतका राहत सामग्री ड्रोनबाट प्रभावित क्षेत्रमा पुर्‍याइएको उनले जानकारी दिए ।

राहत वितरणका लागि फिलिमबाट ८७ र खोर्लावेशीबाट ६४ पटक ड्रोन उडान गरिएको उनले बताए । उनका अनुसार सडक र पदमार्ग बगाएर आउजाउ नै बन्द भएका स्थानमा ड्रोनमार्फत राहत पुर्‍याएर पीडितहरुलाई वितरण गरिएको हो ।

सडक मर्मतका लागि राखिएका डोजर र एक्स्काभेटरमा आवश्यक इन्धनसमेत ड्रोनमार्फत ढुवानी गरिएको उनले बताए । करिब ३५ सय लिटर इन्धन ड्रोनमार्फत ढुवानी भएको उनले जानकारी दिए । उनका अनुसार बाढीले अवरुद्ध बेनिघाट आरुघाट लार्के सडक खुलाउने काममा उक्त इन्धन प्रयोग भएको हो ।

विशेष गरी उत्तरी गोरखाको पाङसिङ, जगत, यारुबगर, केरौजा लगायतका स्थानमा राहत वितरणका लागि ड्रोनको प्रयोग गरिएको हो । कात्तिक १ गतेदेखि ३ गतेसम्म ड्रोनमार्फत राहत सामग्री ढुवानीको काम भएको बताइएको छ ।

राहत वितरणमा प्रयोग भएको ड्रोनले ६ किलोमिटरको दुरीसम्म सामान ढुवानी गर्न सक्छ । एकपटकमा ८५ केजीसम्मको तौल बोक्ने क्षमता रहेको बताइएको छ । फिलिममा नेपाली सेनाको हेलिमार्फत ड्रोन लगिएको थियो भने खोर्लावेशीमा सडकमार्गबाट ।

बाढी लगतै राहत तथा उद्धारमा सशस्त्र प्रहरी निरन्तर खटिएको डिएसपी रेग्मीले बताए ।

  • १३ कार्तिक २०८३, शुक्रबार १०:२६ प्रकाशित