एनपीएल : जनकपुरको पहिलो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए । हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे ।

७ रनमा ओपनर तृतराज दासलाई गुमाएको जनकपुरले ३७ रन जोड्दा मयन यादवलाई गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भएका थिए । त्यसपछि जनकपुरको ब्याटिङ मोइन र हसनले सम्हालेका थिए । बलिङमा काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिएका थिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।

ब्याटिङमा काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे ।
पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

  • १२ कार्तिक २०८३, बिहीबार १६:४९ प्रकाशित