काठमाडौं ।
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सरकार निरङ्कुश दिशातर्फ उन्मुख बनेको आरोप लगाएको छ। नेकपा संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति चरम उदासीन बनेको र मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलेको आरोप लगाएका हुन्।
सङ्घीय संसद्को चालु बजेट अधिवेशनको अन्तिम चरणमा आइपुग्दा शुक्रबार संसद्मा सम्बोधन गर्दै उनले सरकारले ६ महिनाको अवधिमा आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको, जनसरोकारका सवाललाई बेवास्ता गरेको तथा अर्थतन्त्रलाई सङ्कटग्रस्त बनाएको दाबी गरेका हुन् ।
चालु अधिवेशनको सुरुवात नै अस्वाभाविक ढङ्गबाट भएको टिप्पणी गर्दै उनले संसद् अधिवेशन आह्वानलगत्तै स्थगित गरेर अध्यादेश जारी गरिएको र कार्यपालिकाले व्यवस्थापिकालाई छल्ने तथा अपमानित गर्ने प्रवृत्ति देखाएको जिकिर गरे। संसद् बैठकमा सांसदहरूले जनजीविका, विकास र उत्पीडनका हजारौँ सवालहरू उठाए पनि सरकारले त्यसप्रति कुनै गम्भीरता नदेखाएको उनको भनाइ छ।














