विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन

केन्द्रभाग मिडिया

 

काठमाडौं।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली चयन भएका छन् ।

समिति सभापतिका लागि मंगलबार उम्मेदवारी मनोनयनको कार्यतालिका निर्धारण भएको थियो । त्यसक्रममा सभापतिका लागि पराजुलीको मात्र उम्मेदवारी परेको थियो । निर्विरोध भएपछि बुधबार बसेको समितिको बैठकलाई सम्बोधन गर्दै पराजुलीले सभापतिमा आफूलाई प्रस्ताव गरी महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा सबै सदस्यलाई धन्यवाद व्यक्त गरे ।

‘यहाँहरूले व्यक्त गर्नुभएको विश्वासलाई साझा सहकार्य, निष्पक्ष अध्ययन र परिणाममुखी कामबाट सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु’, पराजुलीको भनाइ थियो ।

उनले समितिको जिम्मेवारीसँग विपद्मा आफन्त गुमाएका परिवारको पीडा, घरबार र जीविकोपार्जन गुमाएका नागरिकको भविष्य तथा जोखिममा रहेका बस्तीहरूको सुरक्षा जोडिएको स्मरण गराए ।

‘हिमालसहित सबै क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको वैज्ञानिक अध्ययन गर्दै जलवायु न्यायका लागि नेपालको आवाज बलियो बनाउने र भविष्यमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने ठोस आधार निर्माण गर्नु हाम्रो साझा दायित्व हो’, पराजुलीको भनाइ छ ।

त्यसक्रममा सभापति पराजुलीले समितिको कार्यादेशलाई स्पष्ट कार्ययोजना, जिम्मेवारी बाँडफाँट र समयतालिकासहित अघि बढाई निर्धारित समयसीमाभित्र तथ्यमा आधारित, निष्कर्षपूर्ण, व्यावहारिक र कार्यान्वयनयोग्य प्रतिवेदन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने लक्ष्य हुने बताए ।

उनले समिति सदस्यहरूको विषयगत ज्ञान, अनुभव, प्रभावित क्षेत्रसँगको सम्बन्ध र सक्रिय सहभागिता आफूहरूको प्रमुख शक्ति हुने भन्दै सचिवालयका कर्मचारीको अनुसन्धान सहयोग, तथ्याङ्क सङ्कलन, अभिलेख व्यवस्थापन, समन्वय र प्रतिवेदन तयारीमा रहने भूमिका समेत उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

  • १४ आश्विन २०८३, बुधबार १५:२२ प्रकाशित