कन्दरा ब्यान्डद्वारा बाढी प्रभावितको लागि ४८ लाखभन्दा बढी सहयोग संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
कन्दरा ब्यान्डले उत्तर अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन गरेको छ ।

क्यानाडा र अमेरिकामा गरिएको ‘रिदम अफ चेन्ज’ टुरका क्रममा संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै तर्फबाट राहत वितरण गरेका छन् भने बाँकी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्यान्डले जनाएको छ ।

गायक विवेक श्रेष्ठका अनुसार टुरका क्रममा तीन चरणमा रकम जुटाइएको हो । अमेरिकाको एटलान्टामा भएको कार्यक्रममा करिब २१ लाख रुपैयाँ संकलन भएको थियो । त्यसपछि मेरिल्याण्डमा छन्त्याल परिवारका सदस्यको पहलमा ६ हजार अमेरिकी डलर र नर्थ क्यारोलाइनाको कार्यक्रममा ११ हजार ६७० अमेरिकी डलर संकलन गरिएको उनले बताए ।

श्रेष्ठले तीनवटै किस्तालाई नेपाली रुपैयाँमा करिब १५३ रुपैयाँ प्रतिअमेरिकी डलरको हिसाब गर्दा कुल ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन भएको बताए । उक्त रकम अमेरिकास्थित नेपालीका गैरनाफामूलक संस्थाहरुबाट नेपालको प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी श्रेष्ठले दिए ।

अमेरिकाको एटलान्टामा कार्यक्रम हुनुभन्दा २ दिनअघि दैवी प्रकोप भएको अवस्थामा पनि कार्यक्रम नगर्ने निर्णय गर्नुको सट्टा त्यसलाई सामाजिक सेवासँग जोडिएको श्रेष्ठले बताए । ‘शोकलाई शक्तिमा बदलौं र संगीतलाई सेवामा समर्पण गरौं भन्ने हामीले जुन एउटा लक्ष्य राखेर कार्यक्रम गरेका थियौं,’ उनले भने ।

उनका अनुसार एटलान्टाको पहिलो कार्यक्रमबाटै आयोजक संस्थासँग मिलेर करिब २१ लाख रुपैयाँ जुटाइएको थियो । ‘हामीले गरेर आएको टुरको नाम चाहिँ रिदम अफ चेन्ज थियो,’ उनले भने, ‘कन्दराको यो उत्तर अमेरिका एउटा यात्रा मात्रै होइन, नेपाली संगीतलाई नेपाली डायस्पोरासँग जोड्ने, पुस्ताबीचको सम्बन्धलाई पुनर्जीवित गर्ने र संगीतलाई सामाजिक सहयोगको माध्यम बनाउने एउटा अनुभव थियो ।’

पोखराबाट सुरु भएको कन्दरा नेपाली सांगीतिक समूह हो। दशकौँदेखि नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको कन्दराका गीतमा घर, माटो, प्रेम, यात्रा, सम्झना, प्रकृति र नेपाली पहिचानका विषय प्रस्तुत हुँदै आएका छन्।

‘रिदम अफ चेन्ज’ कन्दराका लागि सांगीतिक प्रस्तुति र भ्रमणमा मात्र सीमित नभई संगीतबाट सम्बन्ध, सम्बन्धबाट सहभागिता र सहभागिताबाट सामाजिक सहयोग सिर्जना गर्ने यात्राका रूपमा अघि बढेको समूहले जनाएको छ।

  • १४ आश्विन २०८३, बुधबार १३:४६ प्रकाशित