काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा प्रसाईको रिटको सुनुवाइका लागि पेसी तोकिएको हो ।
दुर्गा प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन् ।
प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए । उक्त विषय रचना खड्काले संसद्मा समेत उठाएकी थिइन् ।
खड्काको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।














