स्याङ्जा ।
भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई हेरेर स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गरेका छन् ।
चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकाले स्थानीय बिदा घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन् ।
सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको सूचनाअनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा आज पूर्ण रूपमा पठनपाठन बन्द हुनेछ । सम्भावित विपद्को जोखिम र मौसम पूर्वानुमानलाई आधार बनाएर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
स्याङ्जाका बाँकी सात स्थानीय तहले भने जोखिमको अवस्था हेरेर आवश्यकताअनुसार विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएका छन् । फेदीखोला, आँधीखोला, हरिनास, कालीगण्डकी गाउँपालिका, पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका विद्यालयमा अवस्था हेरी बिदा दिन सकिने जानकारी गराएका छन् ।
यी स्थानीय तहले जारी गरेका सूचनामा संस्थागत तथा सामुदायिक विद्यालयले आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गरी आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ । नदी, खोला, पहिरो तथा अन्य जोखिमयुक्त स्थानमा रहेका विद्यालयलाई विशेष सावधानी अपनाउनसमेत भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिम बढ्न सक्ने भएकाले स्याङ्जाका स्थानीय तहले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द तथा जोखिमअनुसार बिदा दिने निर्णय गरेका हुन् ।













