काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक दुलालले बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले राहत पाउन नसकेको र उनीहरूको दैनिक आर्थिक कारोबारसमेत ठप्प भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘सुनकोशी, भोटेकोशी र त्रिशूलीको बाढीमा बेपत्ता भएका नागरिकका परिवारले प्राप्त गर्नुपर्ने राहत तथा आर्थिक कारोबारसमेत रोकिएको अवस्था छ । त्यसैले बेपत्ता नागरिकलाई मृतकसरह कानूनी हैसियत प्रदान गर्नुपर्ने परिवारहरूको पटक–पटकको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।













