कांग्रेस वडा अधिवेशन भोलिदेखि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत भोलि शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछ ।

पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भनेको छ ।२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरू आ–आफ्नो वडाको अधिवेशनमा भाग लिँदै छन् ।

सभापति गगन थापाले १५औं महाधिवेशनका लागि वडा तहबाट सुरु हुन गइरहेको अधिवेशनमा उत्साहका साथ सहभागी हुन आह्वान गरिसकेका छन् ।

अधिवेशनमा वडा क्षेत्र भित्रका क्रियाशील सदस्यहरू वडा अधिवेशनका सदस्य हुने छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्नेछ ।

कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् ।

गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जनालाई वडा सदस्यमा निर्वाचित हुने छन् ।

कांग्रेस विधानमा नगर–उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ ।

यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।

  • २ आश्विन २०८३, शुक्रबार १४:०८ प्रकाशित