भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हरायो

केन्द्रभाग मिडिया

काठमाडौं।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासङ्घले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठुलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण सङ्कलन गर्नुपर्ने महासङ्घको भनाइ छ ।

महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले भदौ २६ गते मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

  • १ आश्विन २०८३, बिहीबार १६:२८ प्रकाशित