न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

केन्द्रभाग मिडिया

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मजदुरहरुले पाउने न्युनतम पारिश्रमिक तत्काल लागु गर्न आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति कास्कीले मंगलबार जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै अझै पनि केही रोजगारदाता संस्थाले न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष लागू गर्न आनाकानी गरेको गुनासो आएको बताएका थिए ।

उनले उक्त विषयहरू कडाईका साथ कार्यान्वयन गर्न अनुरोध गरेका छन् । प्रमुख पौडेलले श्रमजीवी वर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभावकारी कार्यान्वयन नभएको र केही औद्योगिक व्यवसाय, शैक्षिक संस्था, सञ्चार संस्था सहित सार्वजनिक ,सरकारी ,गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एवं मजदुरहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको पाइएकोले सो सम्बन्धि व्यवस्था तत्काल योजना बनाइ कार्यान्वयन गर्न सरोकारवालाहरूलार्इ निर्देशन दिए ।

उनले सो विषय लागू भए नभएको नियमित अनुगमन गर्न समेत सरोकारवाला निकायलाई पौडेलले सुझाव दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोषको आवद्धता आम श्रमजीवी मजदुरहरूको हक अधिकारसंग मात्रै सम्बन्धित नरहेर रोजगारदाताहरूको दायित्व र राज्यको कर्तव्यसँग पनि जोडिएको विषय भएको बताए । उनले कास्कीमा निर्वाध थप प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिफन्टका रुद्र खत्री ,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतम ,शिक्षा विकास समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य ,प्रतिभा मावी का प्राचार्य किरण सापकोटासहितले कार्यान्वयनका विषयमा धारणा राखेका थिए ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले श्रम ऎन र न्युनतम पारिश्रमिकको कानुनी तथा नितिगत व्यवस्थाका विषयमा र सामाजिक सुरक्षा कोष पोखराका कार्यालय प्रमुख डिपि सुन्दर पराजुलीले कोषका सन्दर्भमा जानकारी गराएका थिए ।

समन्वय प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

  • ३० भाद्र २०८३, मंगलवार १६:४५ प्रकाशित