आन्तरिक वायुसेवाको बीमा दायित्व १ लाख डलर पुऱ्याउने प्रस्ताव : मन्त्री पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ र ब्यागेज हराउनेलगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन्। उनले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धित विषयलाई कानुनमै व्यवस्थित गर्न लागिएको स्पष्ट पारे।

हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बढाएर १ लाख डलर पुऱ्याउने प्रस्ताव गरिएको जानकारी मन्त्री पौडेलले दिए। बीमा रकम वृद्धि हुँदा भविष्यमा हवाई भाडादर केही बढ्न सक्ने सम्भावनाप्रति सबै सहज हुनुपर्ने उनको भनाइ छ।

मन्त्री पौडेलले विमान दुर्घटना भएर जमिन वा घरमा रहेका सर्वसाधारण (गैर–यात्रु) को ज्यान वा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको उल्लेख गरे। नियमनकारी र सेवा प्रदायक निकाय विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी विषय नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै विधेयकमा सम्बोधन हुने उनले बताएका छन्।

  • ३० भाद्र २०८३, मंगलवार १६:२७ प्रकाशित