पोखरा ।
पोखराका कवाडी व्यवसायीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा आह्वानमा सङ्कलित रकमबाट करिब १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो ।
उक्त राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ । कवाडी व्यवसायीहरूबाट सङ्कलित रकममध्ये ८ लाख रुपैयाँको सामग्री खरिद गरिएको र ढुवानी खर्चसहित कुल १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइएको व्यवसायीहरूले बताएका छन् ।
बाढीपीडित परिवारलाई भाँडाकुँडाहरू सहयोग गरिएको गुरुङले बताए । जसअन्तर्गत १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान तरकारी पकाउने कराई, १ सय ६५ थान डाडु र १ सय ६५ थान पन्यूँ छन् । त्यसैगरी, ६ सय थान थाल, ६ सय थान कचौरा, ६ सय थान गिलास र ६ सय थान चम्चा उपलब्ध गराइएको छ । १ सय ६५ परिवारका लागि पुग्ने गरी सामग्री सहयोग गरिएको छ ।
विपद्को समयमा पीडामा परेका नागरिकलाई मलम लगाउनु सबैको मानवीय दायित्व भएको उनले बताए । सामग्री बुझेपछि पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कवाडी व्यवसायीहरूको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे । प्राप्त सामग्रीलाई महानगरपालिकाले व्यवस्थित हिसाबले वास्तविक पीडितको हातमा पुर्याउने उनले बताए ।
महानगरपालिकाका अनुसार प्राप्त भान्सा सामग्रीलाई प्रतिपरिवार प्याकेजका रूपमा तयार गरी १ सय ६५ घरधुरीलाई वितरण गर्ने योजना बनाइएको छ । महानगरले ३ वटा गाडीमा राहत सामग्री लोड गरी प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरिसकेको छ । भाँडाकुँडा बाहेक लत्ताकपडा, सिरक र डसना समेत सहयोग संकलन गरिएको छ ।












