काठमाडौं ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो ।
यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ । विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ ।
‘हाम्रो तयारी आजै सार्वजनिक गर्ने भन्ने हो, नभए भोलि बिहानसम्म हुनसक्छ,’ गभर्नर कार्यालयका एक कर्मचारी भन्छन् ।
राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठ पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउँछिन् र यद्यपि बैठकबाट पास भएपछि मात्रै कहिले सार्वजनिक हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।












