एसियाली विकास बैंकका अध्यक्ष नेपालमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शाहसँग उनले मंगलवार भेटघाट गर्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ । गत महिना एडिबी अध्यक्ष बंगलादेश भ्रमणमा जाँदा त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए ।

एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले बतायो । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

साथै, काण्डाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकाससम्बन्धी दुई सहयोगमा हस्ताक्षर पनि हुने जानकारी अर्थ स्रोतले दियो ।

नेपाल एउटा निर्णायक घडीमा रहेको बखत खाफू काठमाडौं आइपुगेको अध्यक्ष काण्डाले बताएका छन् ।
नेपालले नयाँ अध्याय शुरु गर्दै गरेको अवस्थामा त्यसमा नेपालाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूले छलफल गर्ने पनि उनले उल्लेख गरेका छन् ।

  • २२ असार २०८३, सोमबार ११:५५ प्रकाशित