काठमाडौं।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको बताइएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ ।
मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ ।
चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनकै दिन उपमन्त्री यान आउन लागेका छन् । दलाई लामाका नेपालस्थित अनुनायीहरूले लामाको जन्म दिन मनाउने तयारी गरिरहेका छन् । त्यसका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।











