काठमाडौं ।
इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि लाखौँ मानिसहरू अन्तिम दर्शनका लागि तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएका छन्।
फेब्रुअरी २८ को आक्रमणमा खामेनीका साथै मारिएका उनका परिवारका अन्य सदस्यहरूको ताबुत पनि इरानी झन्डामा लपेटेर मञ्चमा राखिएको थियो। आफ्ना नेता र उनको परिवारको ताबुत देख्नासाथ उपस्थित लाखौँ श्रद्धालुहरू भक्कानिएर रोएका थिए ।
यस क्रममा आक्रोशित भीडले लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको माग गरिएका पोस्टरहरू प्रदर्शन गरेका थिए।
अधिकारीहरूका अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो जनसमूह हुन सक्ने र पूरै हप्ताको कार्यक्रममा करिब १.५ देखि २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ।
खामेनीको अन्तिम यात्रा ६ जुलाईमा तेहरानबाट सुरु हुनेछ। त्यसपछि उनको पार्थिव शरीरलाई ७ जुलाईमा कोम (इरान), ८ जुलाईमा इराकको नजफ र कर्बला लैजाँदै अन्तमा ९ जुलाईमा इरानको दोस्रो ठूलो सहर मशहदस्थित ‘इमाम रजा दरगाह’ परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिनेछ।











