काठमाडौं।
सरकारले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ ।
शुक्रवार बस्ने संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । सोहीअनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे पनि छलफल हुन लागेको हो ।
निर्वाचन आयोग १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्तविहीन हुँदै आएको छ । अब भने सरकारले प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्त पनि नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।
यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ बर्से कार्यकाल पूरा गरी गत वर्ष ९२०८२ साल वैशाख ५० अवकाश पाएसँगै आयोग कार्यवाहक आयुक्तको भरमा चलेको थियो ।
थपलियाको अवकाशपछि वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहकको जिम्मेवारी पाएका थिए । थपलिया भन्दा अघि आयुक्त ईश्वर पौड्यालले २०७९ फागुनमा अवकाश पाएका थिए ।
उनको ठाउँमा पनि अर्का आयुक्त नियुक्त गरिएको छैन । रामप्रसाद भण्डारीले कार्यवाहककै हैसियतमा गत फागुन २१ गतेको निर्वाचन सफल ढंगले सम्पन्न गरेका थिए ।
संविधान अनुसार निर्वाचन आयोगमा प्रमुखसहित बढीमा ५ जना आयुक्त रहने व्यवस्था छ । हाल आयोगमा कार्यबहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू जानकी तुलाधर र सगुन शम्शेर राणामात्र रहेका छन् ।












