इन्धनको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो ।

विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिए । भुसालको अनुसार आजै साँझसम्म नयाँ भाडादर सार्वजनिक हुन सक्छ ।

इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन ।

मूल्य समायोजनसँगै आजै विहान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भाडादर समायोजन गर्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक भएको भन्दै यसको कार्यान्वयन तत्काल गर्न आग्रह गरे ।

अहिले सरकारले तोकेको भाडादरमा ३५ प्रतिशत भार इन्धनको मूल्य र बाँकी ६५ प्रतिशत सवारी साधन, चालक सहचालक लगायतको तलब तथा ज्याला, पार्टपूर्जा लगायतलाई भार दिने गरीएको छ । मूल्य समायोजन हुँदा तिनैको मूल्यका आधारमा हुने गरेको छ । अरु मूल्यलाई कायमै राखेर इन्धनको भार अनुसार मूल्य समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ ।

अन्तरप्रदेश भाडादर समायोजन भएपछि प्रदेशले समेत सोही अनुसार भाडादर समायोजनको तयारी गरेका छन् ।

  • १७ असार २०८३, बुधबार १४:४१ प्रकाशित