काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।
महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको छ ।
सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।
‘महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापामगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो,’ आयोगले गरेको निर्णयमा भनिएको छ ।
यस्तै प्रादेशिक (भूगोलतर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी बास्तोलालाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।












