पोखरासहित देशका प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि जारी गरेको सहरहरूको मौसम पूर्वानुमान अनुसार आज देशका प्रमुख सहरहरूमा दिउँसो र राति दुवै समयमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन अनुसार देशका सबैजसो भागमा वर्षाको सम्भावना न्यूनतम ४० प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म रहेको देखिन्छ।

विशेषगरी पोखरा, काठमाडौँ, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा दिउँसो र राति दुवै समयमा पानी पर्ने सम्भावना ६० प्रतिशतसम्म उच्च रहेको छ भने धनगढीमा रातिको समयमा वर्षाको सम्भावना ६० प्रतिशत पुग्ने अनुमान गरिएको छ। ओखलढुङ्गामा दिउँसो ४० प्रतिशत सम्भावना रहे पनि राति वर्षाको सम्भावना बढेर ६० प्रतिशत पुग्ने देखिन्छ।

मौसम पूर्वानुमान अनुसार आज देशका विभिन्न सहरहरूको तापक्रममा पनि विविधता देखिनेछ। दिपायल, धनगढी र नेपालगञ्ज आज देशकै सबैभन्दा तातो सहर बन्ने अनुमान छ, जहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्न सक्छ। यस्तै वीरेन्द्रनगर, घोराही, भैरहवा र सिमराको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको आसपास रहनेछ भने धरान र जनकपुरमा २९ देखि ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ।

सङ्घीय राजधानी काठमाडौँको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ। पर्यटकीय सहर पोखराको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरिएको छ।

हिमाली तथा उच्च पहाडी क्षेत्रका सहरहरूमा भने मौसम तुलनात्मक रूपमा शीतल रहने देखिन्छ। आज जोमसोम र ताप्लेजुङ देशकै सबैभन्दा कम तापक्रम भएका सहरहरू बन्नेछन्, जहाँको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस मात्र पुग्नेछ। जोमसोमको न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म ओर्लिने अनुमान छ।
देशैभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

  • १६ असार २०८३, मंगलवार १०:४३ प्रकाशित