काठमाडौं ।
अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप पाउनबाट वञ्चित भएका छन् ।
आर्थिक सर्वेक्षण २०८२/०८३ को तथ्यांक अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिका मात्रै पूर्ण खोप पाएका छन् । जबकि सन् २०२४ मा भने ९५.९ प्रतिशत बालबालिकाले खोप लगाएका थिए ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार, बालबालिकालाई १३ रोग विरुद्ध ९ वटा नियमित खोप दिइन्छ । नेपालमा खोप लिन योग्य ५ लाख १० हजार बालबालिका छन् । यस हिसाबले अझै पनि ४० हजार ८ सय बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।
पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।बालबालिकालाई बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, रोटा भाइरस, निमोनिया, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडविरुद्धका खोप दिइन्छ । यी खोपमार्फत १३ प्रकारका रोगबाट सुरक्षा प्रदान गर्छ ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा। अभियान गौतमले पूर्ण खोपको दायरा केही घटेको देखिए पनि सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको दाबी गरे । यद्यपि सर्वेक्षण गर्दा केही बालबालिका खोपबाट छुटेको तथ्य फेला परेको उनले स्वीकार गरे ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले सबै ७७ जिल्लालाई पत्राचार गरेर स्थानीय तहसम्म छुटेका बालबालिका खोज्न निर्देशन दिएको छ ।नियमित खोप कार्यक्रममा वार्षिक रूपमा तीन अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।


















