किसानलाई समयमै पर्याप्त मलको व्यवस्था गरियोस् : सांसद सिंह

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाइँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन्।सरकारले हालसम्म पनि किसानलाई मल उपलब्ध नगराएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन्।

बैठकमा बोल्दै उनले भने, ‘उखु किसानले अहिलेसम्म चिनी मिलबाट पैसा पाउन सकेका छैनन्। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस्। दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अब रोपाइँको सिजन सुरु हुने बेला छ। पर्याप्त मलको व्यवस्था सरकारले गरोस्। किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन। अब १०-१५ दिनपछि रोपाइँको सिजन सुरु हुन्छ। तेस्रो, बागमतीको कटानको उचित व्यवस्थापन गरियोस्।’

सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने र नदी नियन्त्रण गर्ने काममा पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

  • १२ जेष्ठ २०८३, मंगलवार १३:५६ प्रकाशित