काठमाडौं ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले शनिबार र आइतबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै यसमा पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्।
शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको उनको तर्क थियो।
बैठकमा बोल्दै सांसद बुढाथोकीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो। यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ। साथै दुई दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ। शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ। विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’


















