काठमाडौं ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नरोक्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।शुक्रबार भएको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि उनले यस्तो आग्रह गरेका हुन् । निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री लम्सालले बताएका छन् ।
बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो मन्त्रीसामु राखेका थिए। व्यवसायीका कुरा सुनेपछि मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे। उनले भने, ‘खरिद सम्झौतामा जुन मापदण्ड तोकिएको छ, त्यहीअनुसार समयमै काम हुनुपर्छ। व्यवसायीले आफ्नै एक्सन प्लान बनाएर अघि बढ्नुपर्छ।’
मन्त्री लम्सालले देशको आर्थिक अवस्था र मूल्यवृद्धिको मारबारे सरकार जानकार रहेको बताए। नेपालको इतिहासमै अहिले सबैभन्दा ठुलो मूल्यवृद्धि भएको स्वीकार गर्दै उनले डिजेलको मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा ठुलो असर परेको उल्लेख गरे। ‘मन्त्रालय अहिले करिब ३७ अर्ब घाटामा छ, तर पनि हामी व्यवसायीका समस्याप्रति गम्भीर छौँ’’ उनले भने।
मूल्यवृद्धिको सम्बोधनका लागि राष्ट्र बैंकको इन्डेक्सअनुसार काम भइरहेको र कानुनी प्रक्रिया मिलाएर व्यवसायीलाई राहत दिइने उनले बताए। केही प्रोजेक्टहरूको हकमा ऐन नै संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याद थपको समस्या सुल्झाउने उनको प्रतिबद्धता छ।
मन्त्री लम्सालले राज्य र निर्माण व्यवसायी एकअर्काका साझेदार भएको भन्दै समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए। तर, काममा लापरबाही गर्ने र समयमै नसक्ने व्यवसायीप्रति भने राज्य निर्मम हुने उनले चेतावनी दिए। सार्वजनिक निर्माणमा हुने ढिलाइले विकासमा ठुलो धक्का लाग्ने भएकाले महत्वपूर्ण आयोजनाहरू नरोक्न उनले व्यवसायीहरूलाई निर्देशन दिएका छन्।












