काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।
खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उनीहरुले माग गरेका हुन् ।
सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताए । उनले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरे ।
सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए ।
सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गरे ।सांसद लिमा अधिकारी आचार्यले ग्रामीण क्षेत्र क्रमशः रित्तिँदै गएकाले नेपालको सौन्दर्यलाई उपयोग गर्दै पर्यटक भित्र्याएर काम गर्ने वातावरण बनाउन आग्रह गरिन् ।
सांसद लेखजङ्ग थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि हालसम्म प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा लगानी खेर गएको दुखेसो गरे ।सांसद विष्णुमाया विकले अन्तरजातीय विवाहका कारण सिन्धुलीका एक दलित युवकको निधन भएको घटनाप्रति सदनको ध्यानाकर्षण गराइन् ।सांसद शिवशङ्कर यादवले छोटी भन्सार बन्द हुँदा तराई–मधेसका जिल्लामा समस्या भएको बताए ।
सांसद श्रद्धा कुँवर क्षेत्रीले डिजिटल प्लेटफर्मलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेकामा धन्यवाद दिइन् ।
सांसद श्रीधर पोखरेलले बर्दियामा वन्यजन्तुको आक्रमणका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपरेको पीडा सुनाए ।
सांसद सन्दीप रानाले वर्षायाम सुरु हुन लागेकाले पाल्पाको सडक पूर्वाधारमा समस्या हुने भन्दै तत्काल पूर्वतयारीको काम थाल्न आग्रह गरे ।
सांसद समीना मियाँले स्वास्थ्य क्षेत्रको प्रमुख जनशक्तिका रूपमा रहेका नर्सका लागि न्यूनतम पारिश्रमिक व्यवस्था गर्न र सुरक्षाको प्रबन्ध गर्न माग गरिन् ।
सांसद समीक्षा बाँस्कोटाले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीको संरक्षण गर्न माग गरिन् ।सांसद सरस्वती लामाले धादिङ–सोम्ताङ सडक निर्माण सुरु भएको लामो समय भए पनि हालसम्म प्रभावकारी निर्माण हुन नसकेको गुनासो गरिन् ।
सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई देशभित्रै सहज रूपमा परीक्षणको प्रबन्ध गर्न माग गरिन् ।सांसद साजिता खातुन सिद्धिकीले २४ घण्टाको सूचना दिएर सुकुमवासी बस्ती खाली गराउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समस्यामा परेको बताइन् ।
सांसद सीताराम साहले तराई–मधेसमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।सांसद सिर्जना श्रेष्ठले राज्यलाई कर तिर्ने र रोजगारी उपलब्ध गराउने निजी क्षेत्र क्रमशः हतोत्साही बन्दै गएकाले तत्काल लगानीमैत्री वातावरण बनाउन माग गरिन् ।
सांसद सीता थपलियाले शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन माग गरिन् ।सांसद सुनिताकुमारी चौधरीले निषाद समुदाय राजनीतिक, सामाजिक र आर्थिक रूपमा कमजोर अवस्थामा रहेकाले उनीहरुलाई जनजाति समुदायमा सूचीकृत गर्न माग गरिन् ।
सांसद सुरेशकुमार चौधरीले बाँके जिल्ला सुगम मानिए पनि विभिन्न स्थानमा विकासका कुनै पनि पूर्वाधार नभएको बताए ।सांसद सुशान्त बैदिकले सुशासन र समृद्धिका लागि जेनजीले दिएको बलिदानको स्मरण गरे । उनले प्राकृतिक र मानव सिर्जित विपद्को रोकथामका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुशीलकुमार कानुले वीरगञ्जमा व्यापार व्यवसाय प्रभावकारी हुन नसकेको र जनताको गुनासो सम्बोधन हुन नसकेको बताए ।सांसद सुशील खड्काले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालिगण्डकीको अत्यधिक दोहन भइरहेकाले तत्काल नियन्त्रण गर्न माग गरे ।
सांसद सुशीला ढकाल आचार्यले सुकुमवासी बस्तीमा डोजर चलाउँदा सयौँका सपना चकनाचुर भएको गुनासो गरिन् ।
सांसद सृष्टि भट्टराईले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा अझै पनि गलत तरिकाले पक्राउ गरी दुःख दिने काम भइरहेको बताइन् ।सांसद स्मृति सेञ्चुरीले लामो समयदेखि म्याग्नेसाइट उद्योग अलपत्र परेको गुनासो गरिन् । रासस













