यसवर्ष विपदबाट १९ लाख बढी प्रभावित हुनसक्ने अुनमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आँकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ । दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने जनाइएको छ ।

प्रतिवेदनमा मनसुन अवधिमा देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष हुनसक्ने जनाइएको ।

जोखिममा रहेका जनसङ्ख्यामध्ये पाँच वर्षमुनिका बालबालिका करिब एक लाख ६४ हजार, ६० वर्षमाथिका ज्येष्ठ नागरिक चार लाख १५ हजारभन्दा बढी तथा अपाङ्गता भएका व्यक्ति करिब ४८ हजार रहेको उल्लेख छ । प्रजनन उमेर समूहका महिलाको सङ्ख्या उल्लेख्य रहेको प्रतिवेदनमा जनाइएको छ ।रासस

  • २८ बैशाख २०८३, सोमबार १६:१६ प्रकाशित