काठमाडौं ।
खारेजीमा परेका निजामती कर्मचारी सङ्गठनहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित भएको भन्दै स्वीजरल्यान्डको जेनेभामा रहेको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन सङ्गठनहरूको सहभागिता रहेको विगठित नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिइन् ।
सरकारले गत साता केही अध्यादेश जारी गर्दै कुनै पनि सरकारी निकायमा ट्रेड युनियनसम्बन्धी गतिविधि गर्न पूर्ण रूपमा बन्देज लगाएको थियो । नेपाल आईएलओको अभिसन्धीको पक्ष राष्ट्र भएको अवस्थामा कार्यालयभित्र ट्रेड युनियन गतिविधि गर्ने कार्य कानुन ल्याएर रोक्न नमिल्ने उनीहरूको जिकिर छ ।
कर्मचारीहरू उजुरीपछि आईएलओको नेपाल कार्यालयले सबै सङ्गठनका प्रतिनिधिलाई बोलाएर थप छलफल गरिसकेको छ । यो क्रममा सरकारलाई समेत यसबारे पत्राचार भइसकेको जानकारी दिएको दाहालले बताइन्।













