काठमाडौं ।
नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र ६ झारलको सिकार गरिएको छ ।
यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम (असोज–कात्तिक) र दोस्रो याम (चैत–वैशाख) हुने गर्छ ।
यस याममा आरक्षका ब्लकहरु सुनदहमा दुई नाउर र दुई झारल, सेङमा दुई नाउर, दोगाडीमा पाँच नाउर, बार्सेमा एक नाउर, फागुनेमा एक नाउर र एक झारल तथा घुस्तुङमा दुई नाउर र तीन झारलको सिकार गरिएको छ ।
सिकारीले अनुमति लिएकामध्ये एक नाउर, चार झारल र १३ बँदेलको भने सिकार गर्न नसकेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्षको दोस्रो सिजनका लागि १४ नाउर, १० झारल र १३ बँदेलको सिकार गर्न कोटा निर्धारण गरिएको थियो ।
पेसेवर विदेशी सिकारीका लागि यो आरक्ष विश्वमै प्रख्यात छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्नका लागि आवश्यक कानुनी प्रक्रियामार्फत राजस्व निर्धारण गर्ने गरेको छ ।
सिकार खेलाएर आरक्षले आर्थिक वर्ष २०८०/८१ मा चार करोड २६ लाख ८८ हजार ७००, आव २०८१/८२ मा रु दुई करोड ७५ लाख ६० हजार ४०० र आव २०८२/८३ रु चार करोड १७ लाख ७९ हजार राजस्व आम्दानी गरेको आरक्षका रेञ्जर सागरप्रसाद सुवेदीले बताए ।रासस












