काठमाडौं ।
आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।
समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।
समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ ।सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।













