स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रको विद्युत् सेवा ६५ घण्टापछि पुनः सुचारु

केन्द्रभाग मिडिया

काठमाडौं ।

चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भिर कोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनर्स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो ।

आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो ।

उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको हेटौँडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो ।

स्थानीयवासी, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपत्कालीन अवस्थामा छोटो अवधिमै अन्तर निकायबिच समन्वय गरी सेवा सुचारु भएको हो ।

  • २३ बैशाख २०८३, बुधबार १४:११ प्रकाशित