पोखरा ।
पत्रकार सुर्यचन्द्र बस्नेत र कृष्णमणि बराल दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप बस्नेत र बराललाई ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मान’बाट विभूषित गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार उक्त प्रतिष्ठित पुरस्कार अर्पण गरे। नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित र दयाशंकर पालिखेका परिवारद्वारा स्थापित पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ , दोशल्ला र सम्मान पत्र छ।
सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्व सहितको पेसा भएको बताए । नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अतुलनीय रहेको उनको भनाई छ। “पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उनले भने ।
श्रमजीवी पत्रकारको पेसागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरूको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टले बताए । पत्रकार बस्नेतलाई विसं। २०८१ र पत्रकार बराललाई विसं। २०८२ को सम्मान प्रदान गरिएको महासङ्घ कास्कीका अध्यक्ष माधब बरालले जानकारी दिए ।
पोखरामा लामो समय पत्रकारिता गरेर हाल काठमाडौंमा रहेका तनहुँका बस्नेत राससका वरिष्ठ सम्पादक हुन् । पोखराको नुवारथोक निवासी बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट, इनेचरन्युजमा कार्यरत् छन् ।












