पोखरा ।
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न ३५ दिने सूचना निकालेपछि कास्कीका अन्य दुई पालिकाले पनि सूचना निकालेका छन् । कास्कीका अन्नपूर्ण र मादी गाउँपालिकाले सरकारी, ऐलानी, पर्ती र सार्वजनिक जग्गामा विना अनुमति निर्माण भएका संरचना हटाउन सूचना निकालेका हुन् । यी दुई पालिकाले पनि ३५ दिनभित्र अतिक्रमण हटाउन र आवश्यक प्रक्रिया पूरा गर्न सार्वजनिक सूचना जारी गरेका हुन् ।
दुवै स्थानीय तहले अतिक्रमण नगरेको प्रमाणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गर्दै तोकिएको समयभित्र नआए कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी दिए । अन्नपूर्ण गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय कास्की र गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि सूचना जारी गरेको जनाएको छ ।
‘अतिक्रमण नगरिएको भए तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनू, अन्यथा नियमअनुसार कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ । यता, मादी गाउँपालिकाले जारी गरेको सूचनामा पनि जिल्ला प्रशासन कार्यालय कास्कीको पत्र र गृह मन्त्रालयको निर्देशनअनुसार गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न यस्तो कदम चालिएको जनाइएको छ ।
‘यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिले गाउँपालिका वा वडा कार्यालयमा उपस्थित भई आवश्यक विवरण पेश गर्नुपर्नेछ,’ सूचनामा उल्लेख छ । साथै, सार्वजनिक स्थानमा बसोबास गरिरहेका व्यक्तिले पनि आफ्नो स्वामित्वको प्रमाणसहित निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।













