पोखरा ।
पोखरा जेसीजले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताहन्त २०२६ आयोजना गर्ने भएको छ ।
यही वैशाख १८ गतेदेखि २० गतेसम्म उक्त जेसीज सप्ताहन्त आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
जेसीज सप्ताहन्तको पहिलो दिन वैशाख १८ गते बिहान १० बजेदेखि ५ बजेसम्म र्पस्याङस्थित ताज महल इभेन्ट सेन्टरमा उद्घाटन समारोह हुने भएको छ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ५ को सहकार्यमा युवाहरुका लागि ‘वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम’ सञ्चालन हुने जेसीज पोखराका उपाध्यक्ष एवम् सप्ताहन्तका मूल संयोजक जेसी ई.रविन्द्र गोदारले जानकारी दिए ।
सप्ताहन्तको दोस्रो दिन वैशाख १९ गते शनिबार बिहान ८ बजेदेखि मादी गाउँपालिका वडा नम्बर ९ मिजुरेमा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा वृहत निःशुल्क आँखा शिविर सञ्चालन गर्ने जेसीज पोखराले जानकारी दिएको छ ।शिवर बाट ग्रामीण क्षेत्रका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास आयोजकको छ ।
यस्तै सप्ताहन्तको तेस्रो तथा अन्तिम दिन वैशाख २० गते आइतबार रक्तदान तथा विजनेस आइडिया पिचिङ कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा बताइयो ।
उक्त दिन बिहान ७ बजेदेखि वृहत रक्तदान कार्यक्रम हुनेछ भने दिउँसो ३ बजेबाट पोखरा जेसीजको सचिवालयमा विजनेस आइडिया पिचिङ हुने आयोजकले बताएको छ । युवाहरुको नवप्रवर्तनकारी सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको आयोजकको भनाई छ । सोही दिन सप्ताहन्तको औपचारिक समापन हुने बताइएको छ ।













