काठमाडौं ।
अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ ।
सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो ।बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ । उपत्यकामा रहेका सांसदहरुलाई सहभागी हुन भनिएको छ ।
संसद् रोकेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भएको हो । संवैधानिक परिषदमा सरकार पक्ष अल्पमतमा परेपछि बालेन शाह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोज्दै फास्ट ट्रयाकमा कानुन बनाउन खोजेको बताइएको छ ।
तर, झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त सरकारले संसदबाटै कानुन बनाउनुपर्नेमा विगतमा एमाले–कांग्रेस नेतृत्वको सरकारजस्तै अध्यादेशबाट मुलुक चलाउन खोजेकोमा प्रतिपक्ष मात्र होइन सत्तापक्ष रास्वपाका कतिपय सांसदहरूले नै असन्तुष्टि जनाएका छन्













