एउटा प्रदेशमा भारी वर्षा, ६ वटा प्रदेशमा चट्याङसहित वर्षा हुने

केन्द्रभाग मिडिया

काठमाडौ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधरणतया बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

 

  • १६ बैशाख २०८३, बुधबार ०७:२२ प्रकाशित