काठमाडौं ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले न्यूनतम तलबको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
जिफन्टले ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि’को नारासहित मे दिवस मनाउने भएको छ ।
मे दिवसका अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै जिफन्टले हरेक वर्ष झैँ यस वर्ष पनि मे दिवस घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । हरेक वर्षको मे १ मा यो दिवस मनाउँदै आइएको छ ।
जिफन्टले मे दिवसका अवसरमा श्रमिकका मुद्दा सम्बोधन गर्न सरकारसँग विभिन्न माग अघि सारेको छ ।
जिफन्टले श्रमिकको न्यूनतम तलबको पूर्ण कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा शतप्रतिशत श्रमिकको पहुँच स्थापित,सीप विकास कोषको स्थापना, युवा रोजगारी सुनिश्चितता कार्यक्रम सञ्चालन,शिक्षक पारिश्रमिक नियमावली तयार,उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड निर्माण र आचारसंहिता निर्माण उत्पादकत्व र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेजलगायतका कार्यक्रम तयार गर्न माग गरेको छ।













