पोखरा ।
पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ ।
नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्।
सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताए। ‘हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भने, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन ।’पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको उनले बताए । शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्क कै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गरे ।
तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति उनले गहिरो चिन्ता व्यक्त गरे । आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उनले बताए। उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन उनले आग्रह समेत गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा सह्रानीय रहेको बताए । पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको बताए। ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचको विकासमा जोड दिए ।
पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तहरूको आधारमा अगाडी बढेको बताए । पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबै नागरिक तथा सरोकारवालाहरूलाई धन्यवाद दिए। लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माण भए पनि त्यस क्षेत्रका उपभोक्ताहरूलाई निकै सहज हुने बताए।
आयोजनाका फोकल पर्सन इ।नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।













