काठमाडौं ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिबाट आज पारित गर्ने तयारी छ ।
मस्यौदा समितिका सभापति गणेश पराजुलीका अनुसार महाभियोग लगायतका विषयसँग सम्बन्धित केही काम आजका लागि राखिएको छ । अन्य सबै विषय टुंगोमा पुगिसकेको छ ।
मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा पनि मंगलबार सकिँदैछ । अधिकांश विषयमा सहमति जुटिसकेकाले आजको बैठकबाट मस्यौदालाई अन्तिम रुप दिने तयारी रहेको समिति सदस्यहरूले बताएका छन् ।
नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने गरी काम भएको जनाइएको छ ।
नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ ।
साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको छ ।समितिले आइतबार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी मस्यौदामा सुझाव लिएको थियो ।
सभामुख डोलप्रसाद अर्याललाई समितिका काम कारबाहीको बारेमा जानकारी गराइसकिएको छ ।समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग पनि औपचारिक तथा अनौपचारिक छलफल गरेको जनाएको छ ।
नियमावलीको मस्यौदा प्रचलित कानुन, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजाने गरी तयार पारिएको छ ।












