अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सहायक विदेशमन्त्री एस। पाउल कपुर नेपाल आइपुगेका छन्। उनी आजै बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। त्यसबाहेकका भेटघाटबारे खुलाइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायतसँगको उच्चस्तरीय भेटघाटको भने अहिलेसम्म टुङ्गो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्। राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए।

उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय र आमा भने अमेरिकी मूलकी हुन्।अहिलेको सरकार गठनमा अमेरिकाको विशेष प्रभाव रहेको टिप्पणी भइरहेका बेला सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापकसमेत रहिसकेका कपुरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष सन् २०२०–२१ सम्म विदेश विभागको नीति योजना टोलीमा पनि काम गरेका थिए। त्यहाँ उनलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

  • ७ बैशाख २०८३, सोमबार ११:५१ प्रकाशित