प्रधानमन्त्री शाह विरुद्धको अवहेलना मुद्दा पेसीमा तोकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्धको अवहेलना मुद्दा सुनुवाइका लागि पेसीमा तोकिएको छ । अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले दिएको अदालतको अवहेलना मुद्दा पेसीमा तोकिएको हो । अदालतको अवहेलना मुद्दामा यसअघि प्रधानमन्त्री बालेनले वारेस अनुमति मागेकोमा दिएको थिएन । प्रधानमन्त्री बालेनले पुनस् एक पटक वारेसको अनुमति माग गर्दै वैशाख ३ गते निवेदन दिएका छन् ।

बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि फिल्म चल्न नदिने घोषणा गरी फिल्म हलहरूमा महानगर प्रहरी खटाएका थिए ।

त्यसलगत्तै हलवालाहरूको छाता सङ्गठन चलचित्र सङ्घले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासबाट उक्त आदेश खाएको खबर लगत्तै बालेनले सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताएका थिए ।

बालेनले राज्य र अदालतसमेत भारतको गुलाम भएको आरोप समेत लगाएका थिए । बालेनको यो अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।

  • ४ बैशाख २०८३, शुक्रबार ११:४२ प्रकाशित