पहाडी भेगमा आज वर्षाको सम्भावना, तराई भेगमा गर्मी बढ्ने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ ।

देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ४ बैशाख २०८३, शुक्रबार ०८:३३ प्रकाशित