काठमाडौं ।
सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।
थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।
लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो । उनी सवार भए/नभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।












