संसदीय समितिका सभापतिहरुको मनोनयन दर्ता भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदीय समितिहरूको सभापतिमा भोलि बिहीबार मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ ।

भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।

  • २ बैशाख २०८३, बुधबार ११:३७ प्रकाशित