पोखरा ।
यातायात क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागि गराउनुपर्नेमा सम्बन्धित मजदुर नेताहरूले जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तेस्रो गण्डकी प्रदेश अधिवेशनमा बोल्ने मजदुर नेताहरुले यस्तो जोड दिएका हुन् । उनीहरुले यातायात क्षेत्र र अन्य क्षेत्रका मजदुरलाई समेत यो वा त्या बहाना गरेर सामाजिक सुरक्षा कोषमा सहभागी हुनबाट बञ्चित गर्ने प्रयास नगर्न यातायात व्यसायी कम्पनी र उद्योग प्रतिस्ठानहरुलाई समेत चेतावनी दिएका छन् ।
उनीहरुले राजनीतिक दलहरुले यातायात क्षेत्र र त्यसमा कार्यरत मजदुरलाई भोट बैंकको रुपमा उपयोग गरेको तर, उनीहरुलाई अधिकार दिने सवालमा वास्ता नगरेको आरोप लगाए । अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफण्डका अध्यक्ष विनोद श्रेष्ठले मजदुरको रगत पसिना बगाएर प्राप्त गरेको समाजिक सुरक्षा कोषमा सभागी हुन पाउने अधिकारलाई कसैले कुन्ठित गर्न नपाउने बताए । उनले मजदुरहरुको एकता र सामुहिक प्रयासले मजदुरका अधिकार स्थापित गर्न सहज भएको भन्दै सामाजिक सुरक्षा कोषमा सहभागिता र अन्य अधिकारका सवालमा पनि अझै एकता भएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।
राजनीतिक दलहरुमा मजदुरको उपस्थिति कमजोर हुँदा दलहरुको प्राथिमकतामा आफूहरु नपरेको धारणा राखे । जुन मजदुरले जुनदलमा आवद्धता वा आस्था राख्छ त्यो दलमा हस्तक्षपकारी भूमिका खेल्न सक्नेगरी लाग्नुपर्ने उनको भनाई थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले सामाजिक सुरक्षा कोषको आवद्धता अनिवार्य रहेको भन्दै देशको यातायात क्षेत्र स्वरोजगार मजुदरले धानेको बताए । सामाजिक सुरक्षा कोष मजदुरको र स्वयम रोजगार दाताको हितमा रहेको उनले सुनाए ।
जिफन्ट गण्डकी अध्यक्ष रुद खत्रीले सामाजिक सुरक्षा कोषमा सहभागिता मजदुरको नैसर्गिक अधिकार भएको बताए । उनले यातायात कम्पनीले बहाना नबनाई मजदुरको अधिकारको सुनिस्चित गर्न आग्रह गरे ।
नेकापा एमाले कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले सामाजिक सुरक्षा कोषको विषयमा जानकारी नभएको टिप्पणी गरे । धेरै पहिले यो लागु भइसक्नु पर्ने धारणा राखेका उनले ठूलो संस्थाको नाताले अहिलेसम्म लागु नहुँनु दुखद भएको तर अव लागु गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष विष्णु बहादुर खत्रीले योगदानमा आधारित सामाजिक सुरक्षा लागु हुनु पर्ने बताए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव भानुभक्त बराल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन वागमति प्रदेशका उपाध्यक्ष हरिप्रसाद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वर्गीय संगठन ट्याक्सी संयोजक प्रकाशमणि तिवारी, अखिल नेपाल यातायात मजुर संघ गण्डकी अध्यक्ष सुर्यभक्त पौडेल, क्यूपेक गण्डकी सचिव तीर्थ मगर, संगठनका उपाध्यक्ष राज थिङ लगाएतले बोलेका थिए ।















